कृषिका कर्मचारीले नटेरेको अर्थमन्त्रीको गुनासो



काठमाडौं,वैशाख १५ । अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कर्मचारीले आफूलाई नटेरको गुनासो गरेका छन् । आफूले २ महीनाअघि धानको उन्नत जातको बीउ ल्याएर किसानलाई बाँड्ने योजना ल्याउन भने पनि कर्मचारीले नटेरेको अर्थमन्त्री शर्माको दाबी छ ।

‘दुई महीनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँड्ने योजना ल्याउनू भनिरहेको छु तर तपाईंहरू (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन,’ अर्थ मन्त्रालयमा बुधवार आयोजित छलफलमा उनले कृषि मन्त्रालयका अधिकारीहरूलाई भने ।

उनले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गुणस्तर तथा नापतौल विभागसँग धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल भएको थियो ।

छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताए । उनले नेपालमा सूचीकृत उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीवार पुन: छलफलमा आउन निर्देशन दिएका छन् ।

‘हामीले उन्नत जातको बीउ प्रयोग गर्‍यौं भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन हुने देखिन्छ । यो काम गर्न ढिला नगरौं,’ निजी सचिवालयको विज्ञप्तिमा अर्थमन्त्री शर्मालाई उद्धृत गरिएको छ, ‘मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नु पर्दैन ।’ उन्नत जातको बीउ किन्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले आश्वासन दिए ।

‘उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ,’ अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरू उत्साहित हुन्छन्,’ सचिव मरासिनीले भने ।

छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बीउ ल्याउन निर्देशन दिइसकेको जानकारी गराएका थिए । धानको उत्पादकत्व औसत ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उनले उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताए ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्