ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्ति र व्यापार प्रभावित

ताप्लेजुङ,वैशाख २० । ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष पुग्न लाग्दा समेत खुल्न सकेको छैन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको नाका नखुल्दा जिल्लाको उत्तरी क्षेत्रमा खाद्यान्न लगायत वस्तुको आपूर्ति र अन्तरदेशीय व्यापार प्रभावित भएको छ ।
कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न/नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुंगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्र समेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।
वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुंगोला र तोक्पेगोलावासी दैनिक उपभोग्य वस्तुका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् ।
फक्ताङलुङ–७ ओलाङ्चुंगोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौंरीका लागि नूनदेखि अत्यावश्यक खाद्य सामग्री ल्याउन पाइएको छैन ।’
नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताए । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुंगोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो । त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो । लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए । फक्ताङलुङ –७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौंरी, याक, घिउ, छुर्पी, याक/चौंरीका मासु, चमर (याकको पुच्छर) चीनको बजारमा विक्री हुने गरेको थियो । उनले भने, ‘१६ महीनादेखि नाका बन्द भएको छ । चीनसँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।’ पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेको वालुङले बताए । ओलाङ्चुंगोलामा बुनिएका गलैंचाले चीनमा राम्रो बजार लिएको थियो ।
विगतमा गलैंचा विक्री गरेरै यहाँका स्थानीयवासीले राम्रो आयआर्जन गरेका थिए । तर तीन वर्षदेखि गलैंचा घरमै थुप्रिराखेको ओलाङ्चुंगोलाबासी लामा भुजुङ शेर्पाले बताए । उनले भने, ‘मेरा घरमा ५० ओटा गलैंचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेच्दा राम्रो मूल्य पाइँदैन । त्यसैले घरमै राखेको छु ।’ ओलाङ्चुंगोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुंगोलामा पुर्याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताए । आर्थिक अभियानबाट