यसवर्षको मनसुनमा धेरै ठाउँमा बढी वर्षा

काठमाडौं,वैशाख २३ । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । ती क्षेत्रहरुमा बढी वर्षा हुने सम्भावना (३४ देखि ६५ प्रतिशत) रहेको छ ।
विभागबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको दक्षिणी भूभागमा भने सरदर वर्षा हुने आकलन छ । त्यसको सम्भावना (३५ देखि ४५ प्रतिशत) अनुमान गरिएको छ । आगामी जेठ १८ देखि असोज १४ सम्म चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर विभागले उक्त आकलन सार्वजनिक गरेको हो । विभागका मेट्रोलोजिष्ट सुदर्शन हुमागाईंका अनुसार प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्व, गण्डकी प्रदेशका दक्षिण भूभाग, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उत्तर–पश्चिम र सुदुरपश्चिमका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ ।
सुदुरपश्चिमको पूर्वी भूभाग कर्णाली प्रदेशका मध्य, गण्डकी प्रदेशका मध्यपश्चिम, प्रदेश १ को मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (४५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका मध्य तथा पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) रहेको छ । यस्तै देशको उत्तरी भूभाग र मधेश प्रदेशका धेरै भूभागमा अधिकतम तापक्रम सरदर हुने (३४ देखि ५५ प्रतिशत) देखिए पनि मुलुकको उत्तरी भूभागमा न्युनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना (३५ देखि ५५ प्रतिशत) हुने आकलन गरिएको छ ।