मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने
काठमाडौँ,वैशाख २९ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।
मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिए ।
कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जानकारी दिएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ । आर्थिक अभियानबाट

