आज देशैभरि स्थानीय तहको निर्वाचन



काठमाडौं,वैशाख ३० । आज (शुक्रवार) देशैभरि स्थानीय तह निर्वाचन हुँदै छ । नयाँ संविधानअनुसार स्थानीय तहका लागि यो दोस्रो निर्वाचन हो ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र उपाध्यक्षसहितको पदमा निर्वाचन हुन लागेको हो । त्यसैगरी ६ हजार ७४३ वडाध्यक्षका लागि पनि निर्वाचन हुनेछ । कुल ३५ हजार २२१ सदस्य निर्वाचनबाट चुनिनेछन् । निर्वाचनमा कुल १ लाख ४१ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपील गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरे ।

‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर तथा अधिकार निर्वाचनले प्रदान गर्छ,’ उनले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरीकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’

थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन सरोकारवाला सबैलाई आग्रहसमेत गरेका छन् । उनले थपे, ‘कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी, सही तरीकाले निर्धक्क मतदान गर्नुहुन र मतदान प्रक्रियालाई सफल बनाउन आग्रह गर्दछु ।’

मतदानको अघिल्लो दिन १८ वर्ष पुग्ने सबै नागरिकलाई मतदानको अधिकार भएको ऐतिहासिक निर्वाचन भएको थपलियाले बताएका छन् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिका मतगणना केन्द्रमा जम्मा गरेर तत्काल गणना कार्य शुरू गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्