मतदान शान्तिपूर्ण र उत्साहजनक



काठमाडौं,वैशाख ३१ । निर्वाचन आयोगले शुक्रवारको स्थानीय तह सदस्य निर्वाचनको मतदान छिटफुट अप्रिय घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही ठाउँमा विवाद उत्पन्न हुँदा मतदान रोकिएको बताए । मतदान स्थगनसम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

‘अधिकांश स्थानमा मतदान सम्पन्न भएको छ,’ उनले भने । उनले साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई भोट खसाल्न दिइने भएकाले कुल खसेको मतको यकिन संख्या प्राप्त हुन बाँकी रहेको बताए ।

वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको प्रवक्ता पौडेलको भनाइ छ । उनका अनुसार शुक्रवार रातिदेखि नै मतगणना शुरू भएको छ । मतगणना शुरू हुनुअघि निर्वाचन अधिकृतका कार्यालयहरूमा सर्वदलीय बैठक बसेको थियो । केही केन्द्रमा भने विवाद देखिएकाले मतगणना शुरू गर्न ढिलाइ भएको निर्वाचन कार्यालयहरूले बताए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान केन्द्रमा विवादले मतदान अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुन: मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।

प्रहरीका अनुसार मतदानका क्रममा केही ठाउँमा झडप र विवाद तथा केही ठाउँमा कुटपिटका घटनासमेत भएका छन् । प्रहरीले पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट अप्रिय घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न ५ : ०० बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार ३० भन्दा बढी जिल्लामा ११० अप्रिय घटना भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

विवादका कारण अवरुद्ध ४० मतदान केन्द्रमा पछि विवाद सुल्झाएर मतदानलाई निरन्तरता दिइएको थियो । काभ्रे, सप्तरी, सर्लाहीलगायत केही केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको प्रवक्ता केसीले बताए ।

केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए । हुम्लाको एक ठाउँमा अश्रुग्यास प्रहार भएको छ । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।

वागमती प्रदेशको काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोड भएका छन् । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ ।

प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका–२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि दर्शाउँदै ढुंगामुढा गरेपछि मतदान रोकिएको हो । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो । त्यसैगरी, महोत्तरीको बलुवा–५ को मतदान केन्द्रमा पनि प्रहरीले हवाई फायर गरेको छ ।

रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्