४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

काठमाडौं,जेठ २ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र)तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ । यस्तै, तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन् ।