भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु : रेणु दाहाल



चितवन!जेठ १०। भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनिन् । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने दाबी गरिन् ।

मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन् । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए ।

आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन् ।

‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,’ उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ ।’ महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्