नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग



काठमाडौं,जेठ १३। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि यूरोपेली संघका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ ।

उनीहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको सेफ्टी लिस्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिएका छन् ।

भेटवार्तामा मन्त्री आलेले राजदूत डिप्रेजलाई अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको उडान सुरक्षाका आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यको परीक्षणमा परिपालना दर नतीजाअनुसार ७० दशमलव १ प्रतिशत रहेको र यो दर विश्वका अन्य देशका तुलनामा नेपाली आकाश सुरक्षित रहेको बताए ।

‘आइकाओको नतीजाले नेपाली आकाश सुरक्षित रहेको देखाएको छ, अब नेपाल ईयूको प्रतिबन्ध सूचीबाट हट्नुपर्छ,’ अधिकारीले मन्त्री आलेको भनाइ उद्धृत गर्दै बताएका छन् । आठ वर्षअघि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्यांकन गर्दै कालोसूचीमा राखेको हो । उता नेपालले हवाई सुरक्षाका क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाई क्षेत्रमा अन्तरराष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालीम हुनुपर्ने बताएको थियो । भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले आइकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालीम व्यवस्थित रहेको पनि जानकारी दिएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्