मेलम्ची पानी वर्षापछि मात्रै
काठमाडौं,जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । मेलम्ची पानी आउन बन्द भएसँगै उपत्यकामा दैनिक १७ करोड लिटर पानी कम आपूर्ति हुनेछ । उपत्यकाको मागअनुसार दैनिक ३२ करोड लिटर पानी अपुग हुन्छ ।
अहिलेसम्म मेलम्चीबाट दैनिक १७ करोड र काठमाडौंकै आन्तरिक स्रोतबाट ११ करोड लिटर गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २८ करोड लिटर पानी वितरण गरिरहेको छ । बाँकी माग निजीक्षेत्रका ट्यांकर, घरघरमा जडित बोरिङ, ट्युबवेल, इनार जस्ता स्रोतबाट धानिएको छ । अब केयूकेएलले दैनिक ११ करोड लिटरमात्रै आपूर्ति गर्नेछ । उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर पुगेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् ।
उनले भूमिगत र सतहको गरी सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिएको भन्दै अब पनि सोही परिणाममा आपूर्ति हुने बताए । ‘यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा १/२ दिन बिराएर केयूकेएलले पानी दिँदै आएको थियो,’ राईले भने, ‘अब कम्तीमा ५/६ दिन बिराएर वितरण गरिनेछ ।’ कतिपय स्थानमा पानी आउन त्योभन्दा बढी समय लाग्ने देखिएको छ ।
मेलम्चीबाट पानी आउन बन्द भएसँगै उपत्यकामा खानेपानी वितरणको समय तालिका परिवर्तन गरिएको उनले बताए । मेलम्ची बन्द भएसँगै मंगलवारदेखि नै केयूकेएलका मुख्य शाखाहरूले पानी वितरणको समय तालिका सार्वजनिक गरेका छन् । यसअनुसार अब उपत्यकावासीले पानीका लागि कम्तीमा १ साता कुर्नुपर्ने देखिन्छ ।

