हदम्याद हटाए मन मिले लभ, नमिले बलात्कार भन्ने प्रवृत्ति बढ्छ : सांसद चौधरी



काठमाडौ,जेठ २३। नेकपा एमालेकी सांसद गंगा चौधरी (सत्गौवा)ले मन मिले लभ, नमिले बलात्कार भन्ने प्रबृत्ति बढ्दै गएको बताएकी छिन । सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

छलफलमा बलात्कारसम्बन्धीको हदम्यान हटाउने वा राख्ने भन्नेमा बहस चलिरहेको छ । सांसद चौधरीले बहसमा यौन हिंसाको मुद्दामा हदम्याद हटाउन नहुने बताइन । उनले पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाह प्रकरणको उदाहरण दिंदै हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन।

चौधरीले भनिन् , ‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ? हामीले यहि सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौं, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६/६ महिना जेलमा कोचियो ।’

उनले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन । सांसद चौधरीले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउँने बताइन ।

प्रतिक्रिया दिनुहोस्