उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन
अर्घाखाँची,जेठ २८ । उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन भएको भन्दै एक कार्यक्रमका सहभागीहरुले सरकारको ध्यानाकर्षण गराए । अर्घाखाँची उद्योग वाणिज्य संघ सन्धिखर्कको ८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरूले मुलुकको बिकास र समृद्धिमा योगदान पुर्याउने व्यवसायीका समस्या समाधानको निम्ति राज्यले विशेष पहल गर्नुपर्ने वताए। उनीहरूले मुलुकमा सरकार भएको अनुभुती गर्न नपाएको गुनासो समेत गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रको अधिकारको निम्ति राज्यको ध्यानाकर्षण गराए। अहिले व्यवसायीहरु सबै तिर बाट शोषणमा परेको भन्दै उनलेे कतैबाट पनि सहयोग पाउन नसकेको गुनासो गरे । सरकारले उद्योग सम्बन्धि निति नियम बनाउँदा समग्र उद्योग व्यापारको क्षेत्रलाई हेरेर बनाउनुपर्नेमा सिमित व्यक्तिको मुख हेरेर बनाउने गरेको प्रति उपाध्यक्ष श्रेष्ठको चिन्ता थियो ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश प्रमुख कृष्णप्रसाद शर्माले सरकारको स्थापना भन्दा पहिले स्थापना भएको निजि क्षेत्र बर्षौ देखि समस्यामा बल्झिएको बताए । मुलुकमा रोजगारीको सिर्जना गर्ने ,विना संकोच कर बुझाएर अर्थतन्त्र मजबुत पार्ने उद्योगी व्यवसायीलाई काम गर्ने अनुकूल वातावरण नभएको उनको गुनासो थियोे । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले मुलुकको बिकास र समृद्धिको निम्ति निजि क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको बताए । अर्थतन्त्र लाई बलियो पार्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आफुले निजी क्षेत्र सँग मिलेर काम गर्ने बताए । निजिक्षेत्र सँग मिलेर काम गर्दा छिटो ,सहज र भरपर्दो हुने उनको भनाइ थियो । उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका उनलेे सन्धिखर्कको बिकासमा सहकार्य गर्न निजी क्षेत्रलाई आवह्वान समेत गरे । श्रेष्ठले फरक सन्दर्भमा सन्धिखर्क नगर पालिकाले नगरको फोहरलाई मोहरमा परिणत गर्ने गरि काम भैरहेको समेत बताए ।

