मुग्लिन–आँबुखैरेनी सडक खण्ड अवरुद्ध, निरन्तर भित्ता काटिँदै



मुग्लिन,जेठ २९ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड साँझ अवरुद्ध हुने गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन आँबुखैरेनी खण्ड बन्द गरी सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको हो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आज पनि निरन्तरता दिइएको छ ।

केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ । सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । ५ बजेदेखि यातायात बन्द गरेर काम सुरु भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक नीरज डाँगीका अनुसार करिब दुई घण्टासम्म काम जारी रहँदा यातायात अवरुद्ध हुँदै आएको छ ।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ । काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुईको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्