ट्रेड युनियन कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री : ‘सरकार एकलौटी छैन, धेरै माग नराख्नुस’



काठमाडौं,जेठ ३०। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ । 

प्रधानमन्त्री देउवाले काँग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन काँग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताउनु भयो । 

नेपाल ट्रेड युनियन काँग्रेसको आइतवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनु भयो । 

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानूनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनु भयो । 

प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदूरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनु भयो । 

उहाँले भन्नु भयो, ‘एउटा कुरा के बुझ्नु पर्यो भने तपाईंहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईंहरुले अति महत्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं ।’

कोभिड १९ महामारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको भन्दै सरकारले कोभिड १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायतका कार्यक्रमहरुले हाल कोभिड नियन्त्रणमा आएपनि रुस-युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गज्रिरहेको छ उहाँले बताउनु भयो ।

‘यसले श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ । यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ ।’ देयावले भन्नु भयो,  ‘नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदूरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ । यसैगरी प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदावाजी गर्ने हकको सुनिश्चितता गरेको छ । संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध छ ।’

वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित रहेको भन्दै मुलुकको सम्पूर्ण श्रमजीविहरु आर्थिक रुपले विपन्न र सामाजिक रुपले सुरक्षाको छाताभन्दा बाहिर रहेका श्रमिकहरुलाई लक्षित गरेर सरकारले योगदानमा आधारित सुरक्षा ऐन २०७४ लाई लागू गरेको पनि देयावले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्