साल्ट ट्रेडिङले शुरू गर्‍यो रासायनिक मल भित्र्याउन



काठमाडौं,असार १ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन शुरू गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/विक्री कक्षमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असार पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जानकारी दिएको छ ।

कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित १ लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डीएपीमध्ये बाँकी ३ हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको जानकारी दिएको छ । कर्पोरेशनका विभागीय प्रबन्धक वज्रेश झाले भने, ‘१७ हजार मेट्रिक टन अर्थात् ४ लाख बोरा डीएपी आफ्ना डिपो/विक्री कक्षमार्फत वितरण गरिरहेका छौं । बाँकी ३ हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।’ मल प्रतिबोरा ५० केजीको हुन्छ ।

उनका अनुसार २२ हजार मेट्रिक टन अर्थात् ४ लाख ४० बोरा युरिया मल कोलकाता आइसकेकाले एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ ।  विभागीय प्रबन्धक झाले भने, ‘२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । स्वदेश आउनेबित्तिकै डिपो/विक्री कक्षमार्फत विक्री वितरण शुरू हुन्छ ।’

रोपाइँको समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा उपलब्ध मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ । कर्पोरेशनले इण्डोनेशियाबाट युरिया मल झिकाएको हो ।

कृषि मन्त्रालयले यसपटक मलमा मात्र करीब रू. ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जानकारी दिएको छ ।  माटोको उर्वरा शक्ति बढाउन डीएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बढाउन युरियाको प्रयोग गरिन्छ । ती दुवै मल अन्नबालीको उत्पादकन बढाउन अत्यावश्यक मानिन्छ ।

विभागीय प्रबन्धक झाले भने, ‘कर्पोरेशन सरकारले सुम्पिएको दायित्व पूरा गर्न अग्रणी छ । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् । आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिए यसको जिम्मेवारी वहन गर्न कर्पोरेशन सक्षम छ ।’

कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र २ लाख मेट्रिक टन रासायनिक मल (डीएपी र युरिया) आवश्यक पर्दछ भने वार्षिक रूपमा ५ लाख मेट्रिक टन मल खपत हुने गर्दछ ।

नेपालका ७० प्रतिशतभन्दा बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जीडीपीमा धानको योगदान ७ प्रतिशत छ । धानलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभई हुँदैन ।

किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन छन् । सरकार निष्क्रिय बन्दा किसान मारमा परेको भन्दै सांसदहरूले आइतवार तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्