सातवटा कुकुरले टोक्दा हुम्लामा एक कर्मचारीको अवस्था गम्भीर
हुम्ला,असार ७ । जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोकेको छ ।
कुकुरले टोक्दा उनको अवस्था गम्भीर रहेको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते भएकी हुन् ।
सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले बताए । गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो ।

