अप्पर सोलु हाइड्रोले असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं,असार ९ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आईपीओ जारी गर्ने जानकारी दिएको हो ।
कम्पनीले रू. १९ करोड ५७ लाख ५० हजार बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आईपीओमा आवेदन दिने समय असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

