नुवाकोट शिवपुरी, ककनी लगायत विभिन्न क्षेत्रमा बदेल र बादरबाट मकै जोगाउनै मुस्किल



नुवाकोट,असार १० । जिल्लाको पहाडी क्षेत्र अन्तर्गत राष्ट्रिय निकुञ्ज आसपास बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल परेको हो।

शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकैका शिवपुरी गाउँपालिका अन्तर्गत गुरुङ गाउँ,खोले गाउँ, लिखु, तलाखु लगायत क्षेत्र र लिखु गाउँपालिकाका माथिल्लो मध्यवर्ती क्षेत्र, ककनीका भूभागमा विभिन्न ठाउँका किसानको मुख्य बाली अन्तर्गत मकै खेती यतीबेला बादर र बदेलले खाएर सखाप पारिदिएका छन्। मकैको सुत्ला आउने समयमै बादरले हैरान पारेको किसानहरु बताउछन्।

शिवपुरीका माथिल्लो क्षेत्रका किसानलाई बादर र बदेलबाट मकै बाली कसरी जोगाउने भन्ने हम्मे हम्मे पर्न थालेको छ। दिनभर बादरले हैरान पार्छ, एक किसानले भने,‘राती बदेल र दुम्सीले मकै बाली नष्ट पारेको हुन्छ। उनले बाली जोगाउनै गाह्रो पर्ने बताए। नुवाकोटको ककनी गाउँपालिकामा जंगली बँदेल र बादरले वर्षेबाली नष्ट पारेपछि त्यहाँका किसान समेत चिन्तित भएका छन्। सरकारले वन्यजन्तु प्रभाव न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गरेपनि सारा उपाय निर्थक बन्न पुगेको छ ।

ककनी गाउँपालिकाको निकुञ्ज क्षेत्र नजिक का विभिन्न स्थानमा लगाएको मकै मात्रै नभई अन्य बाली जन्य खेती लगायतका अन्न बँदेलले सखाप पारेको उनीहरूको भनाई छ। गाउँनजिकै रहेको वन जंगलबाट राती बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको स्थानीय बताउछन्। भर्खर लगाएको भण्डारण हुन लागेको मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न सकिएन स्थानीय कर्ण तामाङले भने, ‘पहिले–पहिले बँदेल र बादर गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले।’

निकुञ्ज आसपासका किसानलाई मकै बाली जोगाउन नसके खान समेत पुग्दैन। वर्षभरी दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुने स्थानीयको भनाई छ।  विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको शिवपुरी गाउँपालिकाका किसान बताउछन्। 

रातभर जङ्गली बदेलले उपद्रो गरेर बाली सखाप पारेर बिहान जङ्गलमै जाने र राती पुन दुख दिने गरेको किसान बताउछन्। पछिल्लो समय रातभरी आगो धुनी जगाई जाग्राम बस्दा समेत बँदेललाई रोक्न नसकिएको स्थानीयको गुनासो छ।  बस्ती नजिकै रहेका वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने गरेको किसान बताउछन्। 

निकुञ्ज आसपासका बाली जोगाउनै नसकेर यस क्षेत्रका धेरै युवाहरू विदेशिन बाध्य भएका छन्। ‘वर्षदिन दुख गर्याे खाने बेलामा जङ्गली जनावर आउछन्, लगाएको बाली खाएर सखाप बनाउछन् अनि पैसा कमाउन पनि खाडी मुलुक जानै पर्याे। सरकारी क्षतिपूर्ति नाश भएको एक तिहाई मात्र हात लाग्छ’ एक युवाले साझापथसंग गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्