चालू आवमा हालसम्मकै बढी मुद्दा फर्छ्योट

काठमाडौं,साउन १ । वैदेशिक रोजगार न्यायाधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै बढी मुद्दा फर्छ्योट गरेको छ । २०६६ सालमा स्थापना भएको न्यायाधीकरणले चालू आवमा कुल मुद्दाको ७३ दशमलव ४६ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो । अघिल्लो आवको २०१ र चालू आवमा दर्ता भएका १०८ गरी ३०९ मुद्दामध्ये २२७ मुद्दा फर्छ्योट गरिएको न्यायाधिकरणका रजिष्ट्रार आनन्दराज पन्तले जानकारी दिए ।
चालू आवमा ८२ ओटा मुद्दा फैसला गर्न बाँकी छ । चालू आवमा २६० ओटा मुद्दा पर्ने अनुमान गरी न्यायाधिकरणले अघिल्लो वर्षको बाँकीसहित कुल ४६१ मध्येबाट ३३१ ओटा मुद्दा फैसला गर्ने लक्ष्य लिइएको थियो । न्यायाधिकरणले सोहीअनुसार मासिक लक्ष्य निर्धारणसमेत गरेको थियो । न्यायाधिकरणले स्थापनाकालदेखि हालसम्म २ हजार ४९८ मुद्दा फर्छ्योट गरेको छ ।
न्यायाधिकरणमा १८ महीना नाघेको एउटा मुद्दा फैसला गर्न बाँकी छ भने एक वर्ष नाघेको मुद्दाको संख्या सात छ । न्यायाधिकरणले आव २०६६/६७ मा १५८ मुद्दा दर्ता भएकामा १६ ओटा फछ्र्योट गरेको थियो । पछिल्लो पाँच वर्षमा मुद्दा फछ्र्योटको दर ५० प्रतिशतमाथि रहेको न्यायाधिकरणको तथ्यांक छ । आव २०७४/७५ मा अघिल्लो वर्षको बाँकी र नयाँ दर्ता गरी कुल ६४३ मुद्दा रहेकोमा सो वर्ष ३२५ ओटा मुद्दा फछ्र्योट भएको छ । यस्तै आव २०७५/७६ मा ५७७ मुद्दामध्ये ३७४, आव २०७६/७७ मा ४११ मुद्दामध्ये १६३ र आव २०७७/७८ मा ४५८ मुद्दामध्ये २५७ मुद्दा फर्छ्योट भएको उनले बताए । आर्थिक अभियानबाट