निक्कीका प्रतिनिधि र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

द्विपक्षीय व्यापार तथा लगानीका विषयमा छलफल
काठमाडौं,साउन १। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का प्रतिनिधि र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । निक्कीका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएकोे टोलीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गरेको हो । उक्त अवसरमा संघका गतिविधि, आगामी दिनमा गर्ने कार्य र नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका विभिन्न पक्षहरूबारे छलफल गरिएको छ ।
संघका अध्यक्ष सृजना राणाले नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले विगत ३० वर्षदेखि योगदान दिँदै आएको बताइन् । नेपाल–भारत उद्योग वाणिज्य संघको हालै सम्पन्न २७औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको उनले बताइन् । कार्यसमिति सदस्यहरूको परिचयसहित उनले संघले गरेका कार्य र दुई देशबीचका व्यापार, पारवहन, लगानी, जलस्रोत, पर्यटन, बैंकिङ लगायत विषयमा जानकारी गराएकी थिइन् ।
यसैगरी संघमा विभिन्न विषयगत समिति रहेको तथा उक्त समितिबाट नेपाल–भारतको व्यावसायिक क्षेत्रमा रहेका समस्या तथा समाधानका उपाय बारेमा पनि सुझाव दिइन् । सो अवसरमा राजदूत श्रीवास्तवले भारतले नेपालको विकासमा सधैं साथ दिँदै आएको भन्दै आगामी दिनमा पनि साथ, सहयोग जारी रहने बताए । ‘नेपालमा भारतीय दूतावासले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न आफ्नो भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भने । नेपाल–भारत उद्योग वाणिज्य संघले गरेका कार्यहरूको उनले प्रशंसा समेत गरे । साथै नेपाल–भारत दुईपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनको क्षेत्रमा संघले गर्ने कार्यमा सहकार्य गरी अघि बढ्न दूतावास तयार रहेको उनले बताए ।