स्पष्ट नीति नहुँदा उद्योगधन्दा फस्टाएन : श्रेष्ठ



काठमाडौं,साउन ४ । पञ्चकन्या ग्रूपका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले मुलुकमा अथाह स्रोत भए पनि सरकारको स्पष्ट नीति नहुँदा उद्योगधन्दा फस्टाउन नसकेको बताएका छन् ।

मंगलवार आर्थिक अभियानसँगको कुराकानीमा उनले अर्थतन्त्रको आकार बढेको तर स्पष्ट नीति भने अझै आउन नसकेको बताए । उनले सरकारको नीति दुईओटा उद्योग सप्रिने अनि १० ओटा बन्द हुने खालको भएको गुनासो गरेका छन् । यस्तो प्रकारको नीतिले स्वदेशी उद्योगधन्दाको विकास र विस्तार हुन सक्दैन भन्दै उनले उद्योगमैत्री नीति निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

सरकारले ल्याउने विभेदकारी र अव्यावहारिक नीतिले समस्या भोगिरहनुपरेको उनको भनाइ छ । पञ्चकन्या ग्रूपले सधैं आफूलाई देशको विकासको सहायक बनाउन चाहेको पनि श्रेष्ठले बताए । जुनसुकै सरकार आए पनि विकास निर्माण अपरिहार्य रहेको भन्दै श्रेष्ठ थप्छन्, ‘विकासका लागि चाहिने आधारभूत वस्तु आन्तरिक रूपमै उत्पादन गर्ने सोच बोकेर अघि बढेका हौं, हामी अझै पनि त्यही बाटोमा छौं ।’

पञ्चकन्या ग्रूपअन्तर्गतका व्यावसायिक कम्पनीहरूले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गरेको उनको दाबी छ ।

उनका अनुसार मुलुकमा अहिले पञ्चकन्या ग्रूपका ९/१० ओटा उद्योग सञ्चालनमा छन् । अहिले पञ्चकन्या ग्रूपको वार्षिक टर्नओभर ८ देखि १० अर्ब रुपैयाँ छ । महँगोमा किनेको माल सस्तोमा बेच्नुपरेको अनुभव धेरै रहेको भन्दै उनले व्यापारमा घाटा र नाफा हुँदा पनि नआत्तीकन काम गरिरहेको बताए ।

५० वर्षे यात्रामा पञ्चकन्या ग्रूप देश, विदेशमा परिचित बन्न पुगेको छ । उनका अनुसार भैरहवामा करीब १४ बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालन भइरहेको छ । काठमाडौंमा पञ्चकन्या प्लास्टिकबाट शुरू भएको उक्त ग्रूपको व्यावसायिक यात्रा फाइनान्स, बैंक, बीमा, ट्रेडिङ, हाउजिङ, हाइड्रोपावरसम्म फैलिएको छ ।

यी सबै उद्योगमा तेस्रो पुस्तासम्मले काम गरिरहेको श्रेष्ठले जानकारी दिए । व्यापार, व्यवसायकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको सुनाउँदै उनले आफ्नो कार्यकालमा उद्योग, व्यवसायको क्षेत्रमा धेरै काम गरेको बताए ।

श्रेष्ठका अनुसार ऊर्जातर्फ शुरूमा पञ्चकन्या ग्रूपले सांग्रिला इनर्जीमार्फत बुटवल पावर कम्पनी (बीपीसी) मा लगानी गरेको थियो । शुरूमा घाटा भए पनि अहिले बीपीसीले राम्रो प्रतिफल दिइरहेको उनको भनाइ छ । बीपीसीले अहिले पाँचथरमा ३० दशमलव ६ मेगावाट क्षमताको काबेली हाइड्रो शुरू गरेको छ । उक्त हाइड्रोमा विदेशी कम्पनीको पनि लगानी रहेको श्रेष्ठले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्