राष्ट्रपति नुवाकोटमा



नुवाकोट,साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारी नुवाकोट पुगेका छन् । भण्डारीले शुक्रबार बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना समेत गरेकी छन् । नुवाकोट र रसुवाको सीमामा रहेको उत्तरगया धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा जानकारी लिएका हुन । शुक्रबार बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकोप्टरमा आएका राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा गएकी थिइन । बेत्रावतीमा उनलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गरेका थिए । 

राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका–५ मा रहेको राममन्दिर र विष्णु पादुकामा पूजा गरेकी थिइन । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उनले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताइन । राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिएकी थिइन ।

जिसस प्रमुख घिमिरेले यहाँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए । उनले  यस स्थललाई बृहत् धामको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गरे । जिसस प्रमुख घिमिरेले भने, “यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्ने छ ।”

प्रतिक्रिया दिनुहोस्