झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला
झापा,साउन ८ । झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका ५ मा आज बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेको झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
स्थानीय चिया बगाननजिकै जिङ खोला किनारमा बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष मोहम्मद नुर आलमले जानकारी दिए।
वडा नम्बर ५ का वडासदस्य कृष्णप्रसाद गणेशका अनुसार स्थानीयले शनिबार दिउँसोसम्म स्थानीय चिया पसलमा किशोरीहरूले नास्ता खाँदै गरेको देखेका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए । आफन्तले उनीहरूले बोक्ने मोबाइल नम्बरमा फोन गर्दा फोन गए पनि नउठेपछि रातभर खोजतलास गरेका थिए ।
घटनाको कारणबारे परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको तर घरायसी समस्या केही नभएको जानकारी गराएको वडासदस्य गणेशले बताए ।
‘यस्तो घटना किन भयो भन्ने कुरा कसैलाई अहिलेसम्म जानकारी भएको छैन, परिवारले पनि अहिलेसम्म पत्तो पाएको छैन’ उनले भने, ‘कसरी घटना भयो भयो, एउटै रुखमा झुण्डिएका छन्, हामी त अचम्ममा परेका छौं ।’
स्थानीय करिब १६/१७ वर्षकी करिना कुमारी गणेश, कल्पना गणेश र अन्जली गणेश झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
तीनैजना किशोरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ । उनीहरुमध्ये एक किशोरी विद्यार्थी रहेकी र २ चिया बगानका श्रमिक रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा मृतक किशोरीहरूको परिवारसँग सोधपुछ भइरहेको छ।

