जुम्लामा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

काठमाडौं,साउन ९ । जुम्लामा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी परेका छन् । तिला गाउँपालिका–४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका ५ जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको छ ।
हमाल परिवारले आइतबार साँझ जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएपछि बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टले जानकारी दिएका छन् । पहिले विष्णु हमाललाई वाकवाकी लागेपछि परिवारका सबै जना आइतबार बेलुका नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको जनाइको छ । जंगलबाट कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।