देउवा विरुद्ध प्लेकार्डसहित एकजना युवकले सार्वजनिक कार्यक्रममै गरे नाराबाजी

काठमाडौँ,साउन ९ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममै विरोध सहनु परेको छ।
विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।
नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका थिए। प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए। देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट नागरिकता विधेयक खारेज गर, खारेज गर भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी गरे ।