काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रु वाहक बसमा ढुंगा खस्दा १ जनाको मृत्यु



काठमाडौं,साउन ११ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बसमा ढुंगा खस्दा १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेको समयमा रत्न राजमार्गको छिन्चु–धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका–२ पैसठ्ठीमा गुडिरहेको अवस्थामा सडकमाथिबाट खसेको ढुंगा लागेर १ जनाको मृत्यु भएको हो ।

ना ७ ख ५८११ नम्बरको रात्री बसमा ढुङ्गा खस्दा चालकभन्दा पछाडिको सिटमा बसेका २ जनामध्ये दैलेखको भगवतीमाई गाउँपालिका–२ की १७ वर्षीया पार्वती शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शाहीसँगै बसेकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनार घाइते भएकी छन् । टाउकोमा गम्भीर चोट लागेकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको अवस्था सामान्य छ । गाडीमा ३१ जना यात्रु सवार थिए । गाडी र चालक वीरेन्द्रनगर–३, का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्