घुस लिएको अभियोगमा इन्जिनियर विरुद्ध मुद्दा

काठमाडौँ,साउन १३। रोल्पाको गङ्गादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर डाँगीविरुद्ध मुद्दा दायर गरेकाे हाे।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ।
आयोगका अनुसार सुरुमा रु ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप रु तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ। आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।