छानबिन समितिको निष्कर्षमा पूर्वअर्थमन्त्री निर्दोष ठहर, मन्त्रालय फर्किने सम्भावना बढ्यो ?

काठमाडौं,साउन १३ । संसदीय बिशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनमा बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।
शुक्रबार पूर्वअर्थमन्त्री शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले सभामुख अग्नि सापकोटालाई बुझाउँदै निर्दोष ठहर गरेको हो । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् ।
पूर्वअर्थमन्त्री शर्मामाथि करको दर हेरफेर गर्न अनधिकृत ब्यक्तिको प्रवेश भएको आरोप लागेको थियो । यस विषयमा उनीमाथि प्रश्न उठेपछि गत असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो । शर्मामाथि छानबिन गर्न सुरुमा १० दिनको म्याद दिइएको थियो । १० दिनभित्र छानबिन गर्न समय अपुग हुने भन्दै गत साउन ५ गते सात दिन म्याद थप भएको थियो । सोही अनुसार प्राप्त समयमै छानबिन समितिले शुक्रबार प्रतिनिधिसभामा अनाधिकृत व्यक्तिको प्रवेश नभएको पुष्टि गरेको हो । १७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथी लागेको आरोपको पुष्टि प्रमाण भेटाउन नसकेको हो । छानबिन समितिको प्रतिवेदनको निष्कर्षसँगै शर्माको अर्थमन्त्रालयमा फर्किने सम्भावना बढेको छ।