खोलाले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता
कपिलवस्तु,साउन १७ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ बर्दवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा नगरपालिका–७ बोडगाउँ बस्ने ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने राममायाको श्रीमान् ३६ वर्षीय दिलकुमार सुनार बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार सुनारका १२ वर्षीय छोरा निरज सुनारको भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बेपत्ता भएका दिलकुमारको दुई टोलीले खोजी कार्य जारी राखेको बताए ।
गणपति सेनका अनुसार मृतक राममायाको शव घटना स्थलदेखि एक किलो मिटर दक्षिणतर्फ फेला परेको जानकारी दिए ।

