भूउपयोग वर्गीकरण गर्नेमा तुलसीपुर बन्यो पहिलो पालिका, यसरी छुट्ट्याइयो कृषि र आवासीय क्षेत्र

काठमाडौं,साउन २१ । दाङको तुलसीपुर उपमहानगरपालिकाले भूउपयोग वर्गीरकणको काम सम्पन्न गरेको छ ।
उपमहानगर प्रमुख टिकाराम खड्काले मुख्य बाटोमा १०० मिटर र भित्रि बाटोमा २० देखि ५० मिटरसम्म आवासीय र व्यवसायीक जग्गा वर्गीकरण गरेर त्योभन्दा पछाडिको जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको बताए । सबै वडाका स्थानीयहरूसँग छलफल गरेर सहमतिमै जग्गाको वर्गीकरण गरिएको उनको भनाइ छ ।
उपमहानगरका नापी अधिकृत प्रदिप ज्ञावलीका अनुसार नगरभित्र ३२ प्रतिशत कृषियोग्य जग्गा कायम गरिएको छ । नापी विभागले २०७५ सालमा लिएको स्याटलाइट इमेजमा कृषियोग्य जग्गाको क्षेत्रफल ४७ प्रतिशत हाराहारी रहेको थियो ।
अहिले वर्गीकरण गर्दा १०/२० वर्ष पछिसम्मलाई आवाश्यक पर्ने आवासीय जग्गा छुट्ट्याएर बाँकी जग्गालाई मात्रै कृषियोग्य जग्गामा वर्गीकरण गर्दा कृषि क्षेत्रको क्षेत्रफल १५ प्रतिशत घटेको उनको भनाइ छ ।
कृषिको पकेट क्षेत्र बनाउन मिल्ने क्षेत्र
कुल ३८४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उपमहानगरमा १२४ वर्गकिलोमिटर अर्थात १८ हजार ३०९ बिगाह कृषियोग्य जग्गा रहेको छ । त्यसमध्ये ३ हजार ६९१ बिगाह जग्गालाई कृषिको पकेट क्षेत्र नै घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय तहले चाहेमा ६ महीना होइन २ महीनामै पनि भूउपयोग वर्गिकरणको काम पुरा गर्न सक्छन् भन्ने उदाहरण तुलसीपुर उपमहानगरले दिएको छ । तुलसीपुरबाट अरू स्थानीय तहले पनि पाठ सिकेर काम गर्नुपर्ने देखिन्छ ।
सबैभन्दा पहिलो भूउपयोग वर्गीकरण गर्नेमा सम्भवत तुलसीपुर पहिलो स्थानीय तह भएको नगरापलिकाको भनाइ छ । कृषियोग्य जग्गै छैन भनेर सबै जग्गा गैरकृषिमा वर्गीकरण गर्नेमा भने काठमाडौं उपत्यकाका स्थानीय तह तुलसीपुरभन्दा अघि देखिएका थिए ।