इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले ध्यान देओस : सिंह



काठमाडौं,भदौ ५। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

शनिवार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए । उनले महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने पनि बताए ।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘स्वचालित मूल्य प्रणाली त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’

उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तरराष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन ।  

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको  भनाइ छ । साथै उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न पनि सुझाव दिए ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध गर्दै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्