म्यानमारबाट नेपालमा सीधा हवाई उडानको तयारी
काठमाडौं,भदौ ६ । म्यानमारको यांगुनबाट नेपालमा सीधा हवाई उडान शुरू गर्ने तयारी भइरहेको नेपालका लागि म्यानमारका राजदूत यु सिन ओले बताएका छन् । उनका अनुसार यांगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडान शुरू गर्ने तयारी गरिएको छ ।
सोको लागि काठमाडौंस्थित म्यानमारको राजदूतावासले त्यहाँको सरकारलाई प्रस्ताव पठाइसकेको राजदूत ओले नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा जानकारी गराए ।
‘दुई मुलुकबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेकाले हामी दुई मुलुकबीच व्यापार र आर्थिक सम्बन्ध विस्तारका साथै एयर कनेक्टिभिटी स्थापना गर्न गइरहेका छौं,’ राजदूत ओले भने ।
कार्यक्रममा बोल्दै म्यानमारका लागि नेपाली राजदूत नियुक्त हरिश्चन्द्र घिमिरे यी दुई मुलुकबीच संस्कृति, व्यापार र भाषागत सम्बन्ध विस्तारको ठूलो सम्भावना रहेको बताए । म्यानमारले सार्क र आसियान मुलुकबीचको पुलको रूपमा रहेको पनि उनले बताए । म्यानमारमा रहेका नेपालीलाई दोस्रो ठूलो डायस्पोरा भन्दै घिमिरेले नेपालको हकमा उनीहरूले ‘सफ्ट पावर’का रूपमा काम गर्न सकिने उनकाे भनाई छ ।
चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले दुवै मुलुकका सरकारलाई द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका लागि सीधा हवाई सम्पर्क स्थापित गर्नेतर्फ काम गर्न आग्रह गरे । ‘हामी नेपाल र म्यानमारबीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं,’ अग्रवालले भने, ‘दुवैतिरका सम्भावनाबाट दुवै मुलुक लाभान्वित हुन सीधा हवाई सम्पर्क हुनु जरूरी छ ।’
दुई मुलुकबीचको आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध अझ मजबुत बनाउनेतर्फ चेम्बरले काम गरिरहेको पनि उनले जानकारी दिए । साधारणसभा उद्घाटन सत्रलाई नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिलकुमार वंशल, कन्सुलर कप्र्स नेपालका निवर्तमान डिन लोकमान्य गोल्छालगायतले सम्बोधन गरेका थिए ।

