कैलालीमा बादी समुदायका १३० परिवारलाई एक कठ्ठाका दरले जग्गा बाँडियो
कैलाली,भदौ ८ । कैलालीको चिसापानीमा बादी समुदायका १३० परिवारलाई जग्गा बाँडिएको छ । लम्की चुहा नगरपालिका वडा नम्बर ३ बलचौरमा रहेको खाली जमिन बसोबासका लागि बादी समुदायलाई दिइएको हो ।
उनीहरूलाई प्रतिपरिवार बढीमा एक कठ्ठासम्म जग्गा बाँडिएको नगरपालिकाले जानकारी दिइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बादी समुदायका परिवारलाई जग्गाको लालपूर्जा वितरण गरेकी हुन् ।
बादी बस्तीमा भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरू गरेको बताएकी छन् ।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवा चरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनःस्थापनको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् ।
उनले भूमिहीनलाई लालपूर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकका ५० हजारभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरेर कानुनी रूपमा जग्गाको मालिक बनाइएको पनि बताइन् ।
मन्त्री श्रेष्ठले यसै वर्षभित्र ३०० पालिकाकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिने गरी काम गरिरहेको पनि दाबी गरिन् ।

