सरकारलाई संसदीय समितिको निर्देशन– पूर्वतयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि बढाउनू



काठमाडौं,भदौ ८ । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कामहरू गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधवार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडकखण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । 

समितिले सो राजमार्ग निर्माण गर्दा वातावरणमैत्री, प्रविधिमैत्री र वन्यजन्तुमैत्री तथा गुणस्तरीय बनाउने कार्यको सुनिश्चितताको लागि यसको डिजाइन तथा डीपीआर निर्माण गर्दाकै अवस्थामा ध्यान पुर्‍याउन पनि सरकारलाई भनेको छ । 

बैठकले सो राजमार्गको विभिन्न सडकखण्डमा रहेका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन्यजन्तु आरक्षणलगायतका सरकारका संरक्षित वन क्षेत्रहरूसमेत पर्ने भएकाले वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई पर्याप्त ध्यान दिई सडक तथा पुल निर्माणसम्बन्धी डीपीआर र वातावरणीय अध्ययनका कार्यहरू यथाशीघ्र सहजीकरण गर्न वन तथा वातावरण मन्त्रालयलाई सचेत पनि गराएको छ । 

समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म संचालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सो रेल सेवामा विभिन्न समस्या देखिएकाले ती समस्याहरू हल हुने गरी रेलका लागि आवश्यक मर्मत तथा इन्धन सेन्टरको समेत तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति खड्काले बताइन् । 

प्रतिक्रिया दिनुहोस्