पहाडी र हिमाली उत्पादनलाई अमेरिका निर्यात गर्दै पैंचो पसल , फेन्सी र अग्नि एक्जिमको सहकार्य
काठमाडौं,भदौ ११ । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी विक्रि वितरण गर्दै आएको पैंचो पसल प्रालीले आफ्ना उत्पादन अमेरिकाका विभिन्न राज्यमा उपलब्ध गराउने भएको छ ।
पैंचोले आफनो उत्पादन विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्याउने उद्देश्यले अमेरिकामा निर्यात गर्न शुरु गरेको हो । पैंचोका उत्पादन अमेरिका पुर्याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीसँग सहकार्य गरेको छ ।
पैंचोका बजार व्यवस्थपक लक्ष्मण गैरेले भने, ‘नेपालमा बनेको उत्पादनलाई विश्व बजारमा पुर्याउन पनि नेपालीको लागि गौरबको कुरा हो । त्यसमाथि नेपाली उत्पादनप्रतिको विश्वासकै कारण हामीले विगतदेखि नै जापान, अष्ट्रेलिया र यूरोपका धेरै देशमा पैंचोका उत्पादन पुर्याउँदै आएका छौं ।’
अमेरिका बस्ने नेपाली समुदायले नेपाल चिनाउने र नेपालमै उत्पादन भएको पैंचो उत्पादनको निरन्तर माग बढेपछि अमेरिकी बजारमा प्रवेश गरेको उनले बताए ।
‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई सार्थक बनाउन समेत अमेरिकाको यात्रा तय गरेको गैरको भनाइ छ । अमेरिका बसेपनि नेपाली पहाडी गाउँको खाद्य उत्पादन खान पाउँदा त्यहाँका उपभोक्ता खुशी हुने पैंचोको विश्वास छ ।
लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा गौरावान्वित भएको कम्पनीले बताएको छ ।

