प्रतिनिधि सभा बैठकमा कसले के भने ?
काठमाडौं,भदौ १४ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेका छन् । बैठकको शून्य समयमा उनीहरूले निर्वाचनदेखि साझा प्रकाशनसम्मकाे विषय उठाएका छन् ।
सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुंगो लगाउन सरकारसँग माग गरे । सरकारले गोरखा सैनिकहरूको मागलाई बेवास्ता गरेर उनीहरूलाई दुःखी बनाएको उनको भनाइ थियो । साथै उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।
यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।
यसैगरी सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरिन् । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन् । उनीहरूलाई सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न सांसद विश्वकर्माको माग थियो । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरिन् ।
सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रबन्धन गर्न आर्थिक र प्राविधिक प्याकेजको माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए । त्यहाँका किसान संसदसमेत मन्त्रालयहरूमा गएर कफी खेती प्रबन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए ।
यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन् । उनले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवालाई कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिइन् । सांसद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताइन् ।
यसैगरी सांसद अञ्जना बिसुङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन् । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्याउन सभामुखको रुलिङको माग गरे ।
सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालयहरू सञ्चालन भएको देशहरू धेरै रहेको बताए । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लंघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।
यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले योभन्दा अगाडिका ६ जना शिक्षामन्त्रीले साझा प्रकाशन केन्द्र डुबाएको पनि आरोप लगाए ।

