रहेनन् नुवाकोट त्रिशुलीका ‘खुवा बाजे’
नुवाकोट, भदौ १५ । अन्ततः नुवाकोट त्रिशुलीका भक्तकृष्ण श्रेष्ठ ‘खुवा बाजे’ रहेनन् । २००१ साल माघ महिनामा जन्मिएका श्रेष्ठको ७९ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
त्यसो त बाजेलाई जीवनको उत्तरार्धमा अनेक कठिनाइ उत्पन्न नभएको होइन । जाडो महिनामा मकल ताप्दै गर्दा कुनै समयमा श्रेष्ठको दाहिने हात जलेको थियो। श्रेष्ठले आगो सँग खेल्न भने छोडेनन्, ७९ वर्ष पुग्दासम्म उनी आगोसँगै खेलिरहे । आगोमा हात झोसिएपछि उनका औंलाका नशा खुम्चिए र कहिल्यै तन्किएनन्। चौडाइ मात्र बढ्यो। जसकारण औंला निकै मोटा थिए ।
उनी राँकिएको चुल्होमाथि बसालिएको ठूलो कराईमा त्यही हातले खुवा घोटिरहेका भेटिन्थे । पचास वर्षदेखि उनको हातमा दर्जनौं दाबिलो फेरिए होलान् । दर्जन कराई फाटे। सयौं रुख जलेर खरानी भए। सयौं भैंसीका दूधबाट हजारौं क्विन्टल खुवा बन्यो होला । खुवा चाखेका हजारौं मान्छे पनि अस्ताइसकेका थिए, हजारौं मान्छे बुढा भइसके, उनीजस्तै। उनको घरछेवैमा बग्ने त्रिशुली नदीमा कति घनमिटर पानी बगिसके होलान ! त्रिशुलीको पानीबाट निस्केको कति मेगावाट बिजुली उत्पादन भएर ‘नष्ट’ भइसक्यो!
बाजे भने अझै बिजुलीजस्तै चम्किरहेका भेटिन्थे । त्रिशुली बजारदेखि बीस मिनेट पैदल हिँडेपछि पुगिन्छ ‘खुवा बाजेको खुवा बनाउने घर।’ त्यो ठाउँलाई राइसिङ भनिन्छ। राइसिङ खुवा बनाउने ठाउँ प्रख्यात छ। अनि खुवाजत्तिकै प्रख्यात थिए खुवा बाजे।
खुवा बनाउने घरमा कुनै होर्डिङ बोर्ड छैन। पर्चा–पम्प्लेट प्रचारप्रसार पनि थिएन तर मान्छेका आकर्षण भने घटेको थिएन, झन्झन् बढ्थ्यो । नुवाकोट जिल्लामा ६ वटा एफएम र एउटा टेलिभिजन छ। तिनमा साना पसलका पनि विज्ञापन बज्छन्। कारण, रेडियो/टेलिभिजनका विज्ञापनका दर निकै सस्ता छन्। तर, खुवा बाजेको विज्ञापन बज्दैन। उनलाई त्यसको खाँचै पर्दैन। पैसा नै तिर्न नपर्ने सर्तमा विज्ञापन बजाइदिन्छु भन्दा पनि उनले मानेनन्।
उनको विज्ञापन देखिन्थ्यो, मात्र ६ महिनाअघि उनैले किनेको खुवा बेच्ने गाडीमा। ढकवाला तराजुमा खुवा जोखिरहेको फोटो भ्यानको बाहिरी भित्तामा टाँसिएका हुन्थे । त्यत्ति हो, उनको अनुहार देखिने ठाउँ। अनुहार चिनाउनु नै किन पर्यो र? झन्डै पचास वर्षदेखि खुवा बेच्दै आइरहेका खुवा बाजे नुवाकोट सदरमुकामभरि यसै चिनिन्थे। मार्केटिङ गर्नै पर्दैन। खुवाले आफैं बजार बनाएका थिए । बजारशास्त्रको मार्केटिङको भाषा उनलाई थाहै थिएन ।
तर आज खुवा जत्तिकै मिठा शब्दले उनलाई सम्झन सकिन्न उनले सदाका लागि यस संसारबाट बिदा भए । हामीसंग छ त केवल श्रद्धाञ्जलीका शब्दहरू ! मन फुटेर उम्लिएका आशुका भेलहरु । हार्दिक श्रद्धाञ्जलीका अनगिन्ती शब्दहरु ।

