एमाले–राप्रपा चुनावी तालमेल हुने संभावना बढ्यो



काठमाडौं, भदौ १५ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपाले सहकार्य गर्ने भएका छन् । यसको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वसँग पटक पटक भेटवार्ता गरिरहेका छन् ।

पछिल्लो भेटमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । यता, राप्रपाको पदाधिकारी बैठकमा पनि एमालेसँग सहकार्य गर्ने निर्णय भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनका अनुसार एमालेसँग चुनावी तालमेल गर्ने भनेर पदाधिकारीले निर्णय गरेको छ।

१६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले वढिमा २० देखि २५ सिटसम्म दाबी गर्ने संभावना रहेको चर्चा छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई राप्रपालाई बढिमा १५ सिट दिने मुडमा रहेको बताईएको छ । चुनावी सहकार्यबारे एमाले राप्रपाबीच आगामी सोमबारसम्ममा सहमतिपत्रमा हस्ताक्षर हुने श्रोतको दाबी छ ।

आगामी चुनावलाई लिएर अहिलेदेखि नै दलहरुले चुनावी सहकार्यको लागि छलफल अघि बढाएका छन् । सत्ता गठबन्धनले पनि आज भोलिभित्रै सिट बाँडफाँड टुँगो लगाउने भएको छ । कांग्रेसले १०० सिटमा दाबी गरेको भने माओवादी केन्द्र, जसपा, नेकपा एसलगायतले भने कांग्रेसले उदारता देखाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्