माओवादी केन्द्र शिवपुरी र ककनीबाट संघमा हितबहादुर र प्रदेशमा राधिका तामाङ सिफारिस
नुवाकोट,भदौ १७ । जिल्लाको शिवपुरी गाउँपालिकाले आगामी निर्वाचनको संघ र प्रदेशको उम्मेदवार सिफारिस गरेको छ । जसअन्तर्गत नुवाकोट क्षेत्र न.१ मा हितबहादुर तामाङ, क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन ‘क’ मा राधिका तामाङ र संघ क्षेत्रगत समानुपातिक तर्फ शिवबहादुर खातीलाई सिफारिस गरेको हो ।
माओवादी केन्द्र ककनी गाउँपालिकाको विस्तारित बैठक समेत सम्पन्न भएको छ । गाउँ पार्टी कमिटीले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा नुवाकोट संघिय क्षेत्र न.१ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको उमेदवार र प्रदेश “ख” प्रदेश सभा प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको उमेदवार सिफारिस गरेको जनाएको छ ।
उक्त बैठकले जिल्लाको संघिय क्षेत्र न. १ प्रत्यक्ष तर्फ हितबहादुर तामाङ पुनः सिफारिस भएका छन् भने समानुपातिक तर्फ बिमला सुबेदी सिफारिस भएकी छिन । त्यस्तै प्रदेश सभा ‘ख’ प्रत्यक्ष तर्फ पुष्प लामिछाने, नवराज ढुंगाना, राजन गौतम, सीता खतिवडा लामा,उत्तम घिमिरे गरि ५ जना नेता सिफारिस भएका छन् । समानुपातिक तर्फ श्रीकृष्ण अधिकारी र बलराम फुयाललाई सिफारिस गरिएको माओवादी केन्द्र ककनी गाउँपालिकाले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका अध्यक्ष कमल खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ विभिन्न उमेदवारलाई सिफारिस गरिएको छ ।
बैठकले संघमा हितबहादुर तामाङ, प्रदेश सभा तर्फ राधिका तामाङ र समानुपातिक तर्फ विमला सुवेदी, शिव खाती, लाल बहादुर तामाङ, एलिशा थापा, जयगार तामाङ, क्षत्रीय निर्वाचन २ तर्फ पुष्प लामिछाने सिफारिस गरिएको दुप्चेश्वर गाउँपालिका माओवादी केन्द्रले जनाएको छ ।

