नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट सांसद तामाङ सर्वसम्मत सिफारिस



नुवाकोट,भदौ २० । नुवाकोट क्षेत्र नं. १ मा माओवादी केन्द्रबाट सांसद हितबहादुर तामाङ सर्वसम्मत सिफारिस भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) ले तामाङलाई सिफारिस गर्दै उम्मेदवारबारे टुङ्गो लगाएको हो ।

तामाङ क्षेत्र नम्बर १ का नेकपा(माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य समेत हुन। यस अघिको निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा. रामशरण महतलाई ८ हजार ५ सय मत प्राप्त गरी हराएका थिए ।

निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रत्यक्षतर्फ सांसद तामाङलाई फेरि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जनाएको छ ।

नयाँ सिफारिस अन्तर्गत समानुपातिकतर्फ पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज बिमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस भएक छन्। सुवेदी २०६४ सालको निर्वाचित संविधानसभा सदस्य समेत हुन्। आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले बताए।

त्यस्तै प्रदेशसभा तर्फ माओवादीले १ (क) को प्रत्यक्षकमा बाग्मती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गरेको छ। तामाङ २०७० को संविधानसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री समेत हुन्। १ (ख) मा जिल्ला संयोजक लामिछाने सिफारिस भएका छन्।

१ (क) को समानुपातिकतर्फ एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिसमा परेका छन्। १ ख को समानुपातिकतर्फ सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्