प्रतिनिधि सभा बैठकमा सांसदको प्रतिप्रश्न : नयाँ स्टक एक्सचेञ्ज किन चाहियो ?



काठमाडौं,भदौ २२ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा सांसद कृष्णप्रसाद दाहालले नयाँ स्टक एक्सचेन्जको विषय उठाएका हुन् । सभाको शून्य समयमा बोल्दै उनले अर्को स्टक एक्सचेन्ज आवश्यक नभएको बताए । अहिले सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्जलाई नै सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी भएकोमा उनले विरोध गरेका हुन् ।

उनले हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई नै प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। नेपालको पूँजीबजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर १ अर्ब रुपैयाँमा सीमित हुन लागेको उनको भनाइ थियो ।

सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको पनि बताए । उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए ।  

नेपाल धितोपत्र बोर्डले हालै मात्र निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन मिल्नेगरी ‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ संशोधन गरेको छ । नियमावलीमा बोर्डले एक्सचेन्ज कम्पनीको चुक्तापूँजी घटाएर न्यूनतम ३ अर्ब रुपैयाँ बनाएको छ । हाल स्टक एक्सचेन्ज कम्पनीको चुक्तापूँजी ५ करोड रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस्