प्रधानमन्त्री देउवाको आक्रोश: ‘देशको दुर्गतिमा को-को जिम्मेवार ?’



काठमाडौं,भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दुर्गतिमा को-को जिम्मेवार छन् भन्ने विषयमा व्यापक छलफल हुनुपर्ने बताएका छन् । बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीको सहयोग बिना कुनैपनि देशको विकास नभएको भन्दै देशको दुर्गति के कति र कसको कारणले भएको हो भन्ने विषयमा व्यापक छलफल गर्नुपर्ने बताए ।

उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जानै नचाहेका कारण पनि धेरै काम अघि बढ्न नसकेको बताए । उनले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे ।

उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने पनि बताए । राजनीतिक नेतृत्व हरेक ५र५ वर्षमा फेरिने तर कर्मचारीहरू स्थायी सरकार भएकोले देशको दुर्गतिमा राजनीतिक नेतृत्व र कर्मचारी सबैको उत्तीकै हात रहेको पनि प्रधानमन्त्रीले दोहोर्‍याए ।

कर्मचारीलाई तलब दिन विदेशबाट ऋण लिनुपर्ने अवस्था !

अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर तलब दिनुपर्ने बेला आएको देउवाले बताए । उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको विकास हुँदैन । सत्य कुरा हो । सरकार अस्थायी हो । यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्यूरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ ।’

१० मिनेटभन्दा छोटो सम्बोधनमा प्रधानमन्त्रीले १० पटकभन्दा बढी ‘देशको दुर्गतिमा को-को जिम्मेवार छन्, व्यापक छलफल गरौँ’ भनेका थिए ।

उनले अगाडि भने,‘सरकार त ५ वर्षका लागि हो । हार्ने हार्छ, जित्ने आउने हो । तपाईंहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । बाटो बन्दैन, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ ।’

सम्बोधनको क्रममा निकै आक्रोशित देखिनुभएका प्रधामन्त्रीले भनेर, ‘देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्यूरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन ।’

अहिले तीन तहका सरकार हुँदा तीन तहमै ब्यूरोक्रेसी पुगेको भन्दै उनले भने , ‘अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी छ ।  स्थानीय, प्रदेश, केन्द्रीय ब्यूरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौं । तर्पाईंहरू नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ?’

उनले देशको वास्तविकतालाई कर्मचारीहरूको बीचमा राख्दै भने, ‘अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सीडीओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन ।  सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौं नि । त्यही भएर तपाईंहरू काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी दिन तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्