सिन्धुपाल्चोक इन्द्रावतीमा तरकारी संकलन केन्द्र अलपत्र



चौतारा,भदौ २३ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।

यूएसएआईडीको सहयोग र टुकी संघ सुनकोशीको सहकार्यमा सञ्चालन भएकोे सबल कार्यक्रम र सप्रोस नेपालको रू. ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । किसानले फलाएको उत्पादनलाई सङ्कलन गर्ने र बजारसम्म पुर्‍याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताए ।

यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन केन्द्र पनि प्रयोगमा आउन सकेको छैन । गाउँपालिकाको पाँच लाख र यूएनडीपीको रू. एक लाख २० हजार गरी रू. ६ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै विक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवालले बताए ।

विसं २०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताए । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागिमात्रै ध्यानमा राखेर निर्माण गरिएको यी तरकारी सङ्कलन केन्द्र एउटा उदाहरण बनेको छ ।

जिल्लाको नवलपुर र ज्यामिरेमा निर्माण गरिएको संकलन केन्द्र पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्