आगामी प्रदेश सभा निर्वाचनमा दिपक मनाङेलाई नेपाली कांग्रेसले समर्थन गर्ने



लमजुङ,भदौ २४। नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे)लाई समर्थन गर्ने भएको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख)मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो । कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहेका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ ।

कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका गुरुङ केही वर्ष पहिले पार्टी परित्याग गरी स्वतन्त्र बनेका थिए । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालीन समयमा एमालेले साथ दिएको थियो । यद्यपि गण्डकी प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुन गुरुङको विशेष भूमिका रहेको थियो ।

प्रदेश निर्वाचन क्षेत्र (ख) सँगै कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला सभापती टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति शंकर गुरुङको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसमेत रहेका गुरुङलाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको हो ।

जिल्ला कार्यसमिति बैठकले प्रदेश क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई सर्वसम्मत रुपमा सिफारिस गरेको पूर्वमन्त्री गुरुङका स्वकिय सचिव सोनाम लामाले जानकारी दिए । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्