मन्त्री कुँवरद्वारा श्रमिकका गुनासो सम्बोधन



काठमाडौं,भदौ २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन् । आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन् ।

श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावर कम्पनीले ठगेको, म्यानपावर कम्पनीले भने जस्तो काम (साउदी अरेबियामा) नपाएर समस्यामा परेको, पैसा नदिएकाले मलेसिया जान नपाएको जस्ता गुनासाहरू श्रमिकले राखेका थिए । पछिल्लो समय धेरैले विदेश जाँदा ठगिएको गुनासो राख्ने गरेका छन् ।

ठगिएको भनेर मन्त्रालयमा आएका गुनासोउपर मन्त्रालयले आवश्यक  सुनुवाइ, सम्बोधन र सहजीकरण गर्ने मन्त्री कुँवरले बताए । साथै वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको समेत उनले बताए । म्यानपावर कम्पनीले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लिएको प्रमाण नभएकाले कारबाही गर्न समस्या भएको उनको भनाइ छ । म्यानपावर कम्पनीले पैसा माग्दा प्रमाण राखेर मात्र बुझाउन मन्त्री कुँवरले श्रमिकलाई आग्रह गरेका छन् । मन्त्री कुँवरले तीन हप्ता श्रमिकका गुनासो सुनेका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष मन्त्रीसँग आफ्ना गुनसा राखेका छन् । श्रमिकका गुनासालाई तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासा वैदेशक रोजगार विभाग तथा बोर्डमा समाधानका लागि पहल गर्न मन्त्री कुँवरले अनुरोध गरेका छन् ।

‘श्रमिकसँग श्रममन्त्री कार्यक्रम’ हरेक हप्ताको आइतवार बिहान ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्