हिमालपारी व्यापार संघको परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
तातोपानी नाका तत्काल खुलाउने प्रयास भइरहेको छ: मन्त्री खड्का
काठमाडौं,भदौ २७ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।
आईतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिएका थिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए । दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने भन्दै सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा आउँदै छन् ।
‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु । यो चापलाई जकिसक्दो चाँडो खुलाउनुपर्यो भनिरहेको छु । भोलि चिनियाँ राष्ट्रिय काँग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । यसबारेमा मसँग पर्सिं शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला । यसलाई म तदारुकताका साथमा दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने हिसावले पहल गर्नेछु । यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ,’मन्त्री खड्काले भने।
ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताएका थिए । नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए । साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताएका थिए।
‘कोरोनाको नाममा अब पनि नेपालले गर्ने व्यापार, व्यवसाय र चीनले गर्ने व्यापार व्यवसाय साथै नाकामा हुने व्यापार, व्यवसाय रोकिनु हुँदैन । हामीलाई आशा छ कि अबको दिनमा नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार हुँदै जानेछ । नेपाली, व्यापारीहरुले पनि आत्महत्या गर्नुपर्ने अवस्था आउनेछैन । पहिला त त्यहाँबाट यता ३२ किलोमिटरका वासिन्दालेत झिटिकुण्टाको सुविधा पनि पाएका थिए । त्यो पनि अहिले पाएका छैनन्, त्यो सुविधाका बारेमा पनि हामी नेपाल पक्षसँग पनि कुरा गर्छौं र चिनियाँ पक्षले पनि सहयोग गर्छ,’ उनले, ‘भने यो व्यापार फस्टाउँदै गएको अवस्थामा त्यो पनि हुनसक्छ । सबैलाई हुने गरेर अब व्यापार, व्यवसाय अघि बढ्नका लागि यो सरकारले वातावरण बनाउन पल गर्छ । व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुँदै जाने, नेपाली पक्षको अवस्था राम्रो बन्नेछ । नाका राम्रोसँग सञ्चालन हुँदा नेपालमा बजार भाउ व्यवस्थापन हुनेछ ।’
ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताएका थिए । समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे। अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह समेत गरे । नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताएका थिए । अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सुसञ्चालनबारे पहल गरिदन आग्रह गरे। पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटा सम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो उनले गरेका थिए ।
आईतवार हिमालपारी व्यापार संघले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । आईतवार परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका संघका पदाधिकारी र व्यापारीहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका थिए । आर्थिक अभियानबाट

