डेंगी नियन्त्रणमा महानगर



काठमाडौं,भदौ २८ । काठमाडौं उपत्यकालगायत देशका धेरैजसो ठाउँमा अहिले डेंगी फैलिएको छ । लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारहरूले अभियान नै थाल्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । संघीय राजधानी काठमाडौंमै डेंगीका धेरै बिरामी देखिएका छन् ।

तर, काठमाडौं महानगरपालिकाले भने अहिलेसम्म डेंगी नियन्त्रणमा चासो दिएको देखिएको छैन । बरु महानगर धमाधम अवैध संरचना भत्काउने/हटाउने अभियानमा व्यस्त छ । एउटा कामका लागि स्वीकृति लिएर अर्कै प्रयोजनमा प्रयोग भएका संरचना धमाधम हटाइँदै छन् । काठमाडौं उपत्यकामा अवैध संरचना तथा नियम मिचेर संरचनाहरू बनाउने परिपाटीले गर्दा यो निकै कुरूप बन्दै गइरहेको छ । सांस्कृतिक शहर भए पनि यसले आफ्नो मौलिकता गुमाउँदै गएको र सांस्कृतिक धरोहरसमेत अतिक्रमणमा पर्दै गएको अवस्थामा अहिले महानगरले गरिरहेको काम सकारात्मक देखिन्छ । यस्तो अभियानलाई देशका अन्य पालिकाले पनि सिको गर्न सक्छन् ।

सँगै, काठमाडौंमा भौतिक संरचना हटाइएका मान्छेहरूका कुरा सुन्दा यस्तो अभियानमा मुद्दामामिला हुन सक्ने सम्भावना भने देखिन्छ । त्यसैले महानगरले अवैध संरचना भत्काउनुअघि कानूनी पक्षको ख्याल गर्नैपर्छ । कानूनी पक्षको ख्याल नगर्ने हो भने देशमा अराजकता उत्पन्न हुन्छ, अराजकताले कसैको पनि हित गर्दैन । महानगरले शुरू गरेको यस्तो अभियानले मानिसलाई नियम मिचेर बनाइएका संरचना कुनै दिन भत्कने रहेछ भन्ने चेत खोल्ने र यस्तो काम गर्न निरुत्साहित गर्ने देखिन्छ । यो काम महानगरको विशेष अभियान होइन । वास्तवमा उसको नियमित काम नै हो तर विगतमा महानगर प्रशासनले आँखा चिम्लिदिँदा बढेको विकृति हो । यो काम गर्दा गर्दै पनि महानगरले तत्कालै चाल्नैपर्ने अर्को अभियान डेंगी नियन्त्रण हो ।

साउन महीनायता डेंगीका कारण सात जनाले ज्यान गुमाइसकेका छन् भने हजारौं नागरिक रोगसँग लडिरहेका छन् । अस्पतालहरू बिरामीले भरिएका छन् । यो देशभर नै फैलिसकेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग फैलन नदिन लामखुट्टे नियन्त्रण गर्नुपर्छ । साथै, जनचेतना पनि उत्तिकै आवश्यक छ । मानिसहरूको हेलचेक्र्याइँकै कारण यो फैलिइरहेको छ । पानी जमेका ठाउँमा यस्तो लामखुट्टे फैलिने र तिनले मानिसलाई टोकेर यो रोग सार्ने गरेको पाइन्छ । भारत, दिल्लीका मुख्यमन्त्रीले अहिले डेंगी नियन्त्रणका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने अभियान चलाइरहेका छन् । जुन अभियानलाई आमनागरिकले पनि साथ दिइरहेका छन् । वास्तवमा यस्तो काम संघीय सरकारले भन्दा बढी स्थानीय तहले गर्न सक्छन् र गर्नु पनि पर्छ । नेपालमा भने स्वास्थ्य मन्त्रालय र मातहतका निकाय डेंगी नियन्त्रण अभियानमा बढी खटिएको देखिएका छन् । स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि गर्न पनि काठमाडौं महानगरलगायत अन्य स्थानीय तह डेंगी नियन्त्रण अभियानमा तत्काल खटिनुपर्छ ।

नेपालमा डेंगी भित्रिएको केही वर्ष भएको छ र यो बढ्दो छ । जाडो महीना लागेपछि लामखुट्टे हराउँदै जाने भएकाले यसको प्रसार रोकिन्छ । स्वास्थ्यविद्हरूका अनुसार यो रोग सार्ने लामखुट्टे कात्तिक मङ्सिरसम्म नै सक्रिय रहन्छ । यस्तो लामखुट्टे मार्नलाई विगतमा महानगरले फग्गी स्प्रे छर्ने अभियान चलाउने गरेको थियो । तर, यस पटक महानगरको ध्यान अवैध संरचना हटाउन र कर उठाउनतिर नै केन्द्रित भएर हुन सक्छ यो काम प्राथमिकतामा परेको देखिँदैन ।

कुनकुन क्षेत्रमा यस्ता लामखुट्टेको प्रकोप छ, रोग बढी फैलिएको छ भन्ने जानकारी महानगरलाई बढी हुन्छ किनभने यसका प्रतिनिधिहरू टोलटोलमा छन् । अत: महानगरले लामखुट्टे नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्नु आवश्यक छ । यो समस्या भित्रभित्रै निकै फैलिइसकेको छ । घरघरमा बिरामी छन् । अत: यसबाट गम्भीर स्वास्थ्य समस्या नआओस् भन्न स्थानीय सरकारले काम थाल्न ढिला गर्नु हुँदैन । अन्य काम थाँती राखेर भए पनि डेंगीविरुद्ध अभियान थाल्न अबेला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्