छहरे-टोखा यात्रा गर्दै हुनुहुन्छ? ‘जोकोही पहिरोको सिकार बन्न सक्छ’
नुवाकोट,भदौ २८ । चाडबाड नजिकिदो छ । स्कुल कलेज बन्द भएपछि चाडबाड खुसियाली साथ मनाउन गाउँ पस्नेको लर्को नै लाग्न थालिसकेको छ ।
चाडबाडका समयमा यस सडक खण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनमा एक प्रकारको भीड नै लाग्छ । तर ठाउँ ठाउँमा भासिएको र बिगि्रएका सडकले गन्तव्य नपुगे सम्म पिर थपिदिने गर्छ ।
सडक खण्डको चाप बोट हुँदै काफलडाडा नपुगेसम्म निर्धक्क हुने ठाउँ छैन। गत साता मात्रै गएको भञ्ज्याङ्को पहिरोले भने यात्रुलाई दिनुसम्म दुख दिने लक्षण देखिएको छ । भञ्ज्याङस्थित नेपाली सेनाको चेकिङ स्थान नजिकै गएको पहिरोले जोकोहीलाई जोखिममा फसाउन सक्छ । सार्वजनिक यातायातका साधनले यात्रु झारेर सवारी आवागमन दिलाए तापनि झण्डै २० मिटर भित्र सम्म खोपिएको छाता झै ढलानले जोकोहीलाई पहिरोको सिकार बनाउन सक्ने एक सेनाले बताए । जोखिम झन बढ्दै गएकाले यात्रु झारेर गाडी पास गराउन सेनाले निर्देशन दिने गरेको उनले बताए ।
गाडी पास गर्न र सडक भार न्यूनका लागि यात्रु ओरालेर हिडाएपनि वर्षा वा सुख्खा समयमा पहिरो जुनसुकै समय जानसक्ने उनीहरु बताउँछन् । सडक ढलान मुनिको बालुवामाटो पहिरोसगै बगेपनि सडकको ढलान भाग छाता झैं रहेकाले यात्रा जोखिमपूर्ण भैरहेको सो सडक खण्डमा नियमित बस चलाउदै आएका चालक शरण श्रेष्ठले बताए ।
सडकको अवस्था र सम्भावित दुर्घटना रोक्न न सडकडिभिजनसंग जवाफ छ न त स्थानीय सरकारसंग पैसा । जनताको करबाट किनिएको चिट्टिक्क परेको गाडीमा सरर यात्रा गर्ने नेताकार्यकर्तालाई यस सम्बन्धि कुनै चासो नभएको सुनखानीका बिष्णु तामाङले बताए । उनले भने- ‘ दुई हप्ता भैसक्यो पहिरो गएको, चाडबाड नजिकिदो छ। सडकको हालत ओडार बनेको छ, कसैलाई न चासो न चिन्ता’
ओडारको स्वरुपमा पहिरोले खोलेको ढलान जुनसुकै समय झरेर जनधनको क्षति हुनसक्ने र सो ढलान झरेपछि बाटो साघुरिदै निकुञ्ज क्षेत्रमा क्षति पुग्ने भएकाले तत्काल यसको उचित ब्यवस्थापन हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

