नुवाकोटमा मिर्गौला बेच्ने गिरोह सक्रिय : शिवपुरीको १५ भन्दा धेरैको मिर्गौला गायब



नुवाकोट,भदौ २९ । विपन्न तथा दलित समुदायका नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह नुवाकोटमा सक्रिय पाइएको छ । उक्त गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

गाउँकै स्थानीय तथा विपन्न परिवारका सदस्यको प्रयोग गरी भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला नै गायब गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । मिर्गौला निकालिएका एक पीडितले उजुरी दिएको र अन्य पीडितको पनि खोजी कार्य भइरहेको ब्युरोका एसपी दानबहादुर मल्लले बताए । 

एउटै गाउँका धेरैजनालाई कोलकाता पुर्‍याएर मिर्गौला निकालिएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ एसपी मल्लले भने, ‘केहीलाई पक्राउ गरेका छौँ, यसमा ठूलै गिरोहको संलग्नता हुन सक्ने अनुमान छ, त्यसमा अनुसन्धान चलिरहेको छ ।’ 

मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका वडा नम्बर ६ समुन्द्रादेवी र ७ सुनखानीका चारजनालाई पक्राउ गरिसकेको छ । सानु भन्ने सुवास नेपाली, मुरली दमाईं, राजु नेपाली र राजेश परियारलाई पीडितको उजुरीका आधारमा २२ साउनमा पक्राउ गरिएको थियो । उनीहरू सबै जेल चलान भएका छन् । उनीहरूले शिवपुरीकै एक स्थानीयलाई मःम पसलमा काम लगाइदिने भन्दै कोलकाता पुर्‍याएर इच्छाविपरीत अस्पतालमा भर्ना गराएर अर्काे व्यक्तिमा मिर्गौला प्रत्यारोपण गराएका थिए । नयाँ पत्रीकाको सहयोगमा

प्रतिक्रिया दिनुहोस्