मन्त्रिपरिषद निर्णयः तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव पराजुली
काठमाडौं,असोज २ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी गराउँदै कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृत दिने निर्णय गरिएको बताए । सरकारका प्रवक्ता कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र, २०७९ स्वीकृत गर्ने र संस्था सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको सङ्घीय संसद्मा पेश गर्न स्वीकृत प्रदान गर्नुका साथै २०७९ कात्तिक १ देखि ४ गतेसम्म नयाँदिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औँ महासभामा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने पनि निर्णय गरेको छ ।
त्यसैगरी संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयाको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा नवलपरास (पश्चिम) पाल्हिनन्दन गाउँपालिका–२ का सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा महानगरपालिका–९ का सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गरेको छ । प्रवक्ता कार्कीले कोहलपुर–सेर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरिएको जानकारी दिए ।

